2024-04-28

आयो राइड सेयरिङ एप ‘जुमजुम’, यात्रु र चालकका लागि के छन् सुविधा ?

काठमाडौं। नेपाल मोबिलिटी सोलुसन्सले नयाँ राइड सेयरिङ एप ‘जुमजुम’ ल्याएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी एप सार्वजनिक गरिएको छ।

कम्पनीले यात्रुहरुको सहजताका लागि ‘जुमजुम’ एप बनाइएको बताएको छ। प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्ने कम्पनीले जनाएको छ।

एफवान सफ्ट ग्रुपका विज्ञले समर्थन गरेको र पिक मिले विकास गरेको एपले यात्रुलाई आवश्यकता बमोजिम सुविधा प्रदान गर्नुका साथै यातायात क्षेत्रमा नै परिवर्तन ल्याउने कम्पनीको विश्वास छ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जुमजुमले यातायातको क्षेत्रमा क्रान्ति ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गरी नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

पिक मि श्रीलंकाका सीइओ जिफ्री जुल्फरले एफवान सफ्टसँग मिलेर उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए।

एपमा यस्ता छन् सुविधा

जुमजुममा इ-सेवा डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ। एकैसाथ धेरै सवारीसाधन बुक गर्न सक्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ। जुमजुम प्रयोगकर्ताले एपमा पहुँच नभएकाहरूका लागि पनि सवारी बुक गर्न सक्ने छन्।

एप प्रयोग गरी यात्रा गर्ने यात्रु र चालक दुवैको ५ लाखसम्मको बीमा हुने कम्पनीले जनाएको छ। यात्रुका लागि बचत र चालकका लागि आकर्षक बोनसको सुविधा रहेको कम्पनीले जनाएको छ।

चालकले सुरुको दुई साता कमिसन तिर्नुपर्ने छैन। त्यसपछि जति धेरै यात्रा गरायो उति नै कम कमिसन तिर्नुपर्ने कम्पनीको भनाइ छ।